काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेका थिए। उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

Post Views: 62

काठमाडौं। संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो। यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो।

विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए।

तर, २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसद्हरुमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो।

तीनवटै दल एउटै बेन्चमा बस्न लागेको भने यो पहिलोपटक हो। यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन्।

एउटै विपक्षी बेन्चमा तीन दल रहनेछन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

समारोहमा सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए। शपथका क्रममा तीन दलका सांसदहरु प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिए। राजनीतिक दलहरुको सिट सङ्ख्याका आधारमा संघीय संसद् सचिवालयले दलहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ।

Post Views: 56

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्।

आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी हुन्।

छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न नसकेको उनको भनाइ छ। तर, केही आधारशिला तयार गरिएको उनले बताइन्।

जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरिएको उनको दाबी छ।

यस्तो छ सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार।
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्‍यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्‍यो।

सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न।

तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु।

भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ।

अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।हामी सबैलाई स्मरण होला- २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।

सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्‍यौँ।

आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।

यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरुको उच्च प्रशंसा गर्दछु।

नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।

चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।

राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ। आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान ससम्मान सम्झिन चाहन्छु।

निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ।

सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।

यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ। मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु।

मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।

विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ।

निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्‍याउन सकिनेछ।

यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ।

यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु।

Post Views: 41

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री र सभामुख छान्ने विषयमा नेतृत्वलाई विश्वास गर्न सांसद र केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्।

रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने बताएका हुन्। रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका पदाधिकारी उपस्थित थिए।

संयुक्त बैठकमा सभापति लामिछानेले नै वरिष्ठ नेता शाहलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई केन्द्रीय समिति र संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री र सभामुख छनोटलगायतका विषयमा पनि बोलेका थिए। मन्त्री बन्नका लागि ‘लबिइङ’ नगर्न र नेतृत्वलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिएका थिए।

सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने भनाइ राखेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए। ‘नेतृत्वलाई विश्वास गरेर मन्त्री, सभामुख छान्ने जिम्मा दिनुस्,’ लामिछानेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी विज्ञता हेरेर छनोट गर्छौं।’

उनका अनुसार संयुक्त बैठकमा सभापति लामिछानेले धेरै पटक ‘नेतृत्वलाई विश्वास गुर्नस्’ भनेका थिए। लामिछानेको दाहिनेतिर लहरै वरिष्ठ नेता शाह, उपभासपतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहेका थिए भने बायाँतिर महामन्त्री कबिन्द्र बुर्लाकोटीलगायत पदाधिकारी थिए।

रास्वपा संसदीय दलका नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै छन्। प्रधानमन्त्रीसँगै शुक्रबार नै केही मन्त्री पठाउने रास्वपाको तयारी छ।

त्यसका लागि रास्वपा सभापति लामिछाने, संसदीय दलका नेता शाहलगायत पदाधिकारी केही दिनदेखि छलफल गरिरहेका छन्। रास्वपा नेताहरूका अनुसार, अझै कसलाई के मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन।

शुक्रबार प्रधानमन्त्रीसँगै शपथ लिने मन्त्रीको आज रातभरीमा टुंगो लगाउने प्रयास भइरहेको रास्वपाका एक पदाधिकारीले बताए। ‘केही नाममा छलफल भएको छ, टुंगो लाग्न बाँकी छ,’ उनले भने, ‘आज रातिसम्म मन्त्रीको टुंगो लाग्छ।’

 

Post Views: 35

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छन्।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो।

सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । उहाँको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो।

उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन्। उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन्।

Post Views: 132

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय तोकेको छ।

बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ। उनले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न पाउने पनि बताए।

निर्वाचनको घोषणा भएसँगै मतदाता नामावली संकलन रोक्ने व्यवस्था रहेको छ। तर, सरकारले बुधबार अध्यादेश जारी गर्दै मतदाता नामावली संकलनको लागि बाटो खुला गरेको थियो।

गत भदौ २३ र ३४ गतेको जेन-जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका छ।

Post Views: 123

सुर्खेत। जुम्लाको गुठिचौर गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। गुठिचौर गाउँपालिकाले आयोजना गरेको महोत्सव गुठिचौर पाटनमा सञ्चालन गरिएको छ।

जुम्लाको पर्यटकीय सम्भावना उजागर गर्न आयोजना गरिएको महोत्सवले यहाको पर्यटकीय सम्भावनालाई मुलुकभर चिनाउने छ। महोत्सव उद्घाटन गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले साहसिक पर्यटनको नक्सामा राख्ने गुठिचौरलाई राख्ने अवसर भएको बताए। पर्यटकले आकाशबाट स्याउ बगान, हरियाली बन, हिमश्रृङ्खला र स्थानीय गाउँघरको मनमोहक दृश्य हेर्ने पाउने उनले बताए।

असोज ११ सम्म सञ्चालन हुने प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन्। अघिल्लो बर्ष दुई सय ३४ उडान भरिएको महोत्सवमा वर्ष दुई सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य लिईएको अध्यक्ष बुढाले बताए। “प्याराग्लाइडिङ महोत्सवमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिने छ“ उनले भने।

प्याराग्लाईडिङका लागि स्थानीयलाई तीन हजार पाँच सय रुपैयाँ र पालिका बाहिरका पर्यटकका लागि चार हजार पाँच सय रूपैया निर्धारण गरिएको छ। महोत्सवले गाउँपालिकाको पर्यटन बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले बताईन् कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने सुनौलो अवसर भएको उनको भनाई छ।

Post Views: 135

काठमाडाैं। भदौ २४ गतेको प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार। तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा। झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार।

आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे। तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी छन्।

रसिलो आँखा पार्दै उनले भने, ‘यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन। पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु।’

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ। भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ। धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन्। आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन्। सिंहदरबारको तस्बिर कैद गरिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिन्, ‘सिंहदरबार जलेको दृश्यले मन जलायो। हृदय भारी भयो। भवनको तस्बिर कैद गर्दा आफैलाई बिझेजस्तो भयो। यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन।’

अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ। सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन्। कैयौका आँखा रसाएको हुनुपर्छ। जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो। अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए। तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो।

आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो। बाक्लो संख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए। सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो। प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछ कि भन्ने चिन्ता छ।

‘सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो। पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो। यो देख्दा अत्यन्तै दुःख लागेको छ। यो ‘रिनोभेट’ गर्न नसकिने त हैन। मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ। फेरि आशा गरौं सिंहदरबार उठ्नेछ,’ उनले भने।

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो। संघीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, ‘धेरै राम्रो भएको थियो। अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ। नेपाल आफैंले ठूलठूला पूर्वाधार बनाउन कठिन छ। बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो। अहिले यो दृश्यले भावुक बनायो।’

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो। राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए। ‘एकदम दुःखदायी अवस्थामा देखियो। अत्यन्तै भावुक र चिन्तित बनायो। देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो। सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ,’ उनले भने।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए। उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो। सिंहदरबारभित्रै काम गर्ने उनले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए। सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए। एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो। तत्कालीन अवस्थामा २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए। विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाइएको थियो।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन्। आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन्। आशा गरौं सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि पनि उभिनेछ सिंहदरबार। जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन्।

सिबी अधिकारी/रासस

Post Views: 142

काठमाडौ। सरकारले चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो।

खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन्। कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ।

कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री सुरु गर्ने छ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी१० रुपियाँ छुट हुने छ।

काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन्।

कम्पनीका प्रमुुख कार्यकारी अधिकृत रमेश आचार्यले दसैँतिहार, छठ र मागीसम्मका दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था गरिएको छ ।

खाद्य कम्पनीले चाडपर्वका बेलामा दुई करोड ५२ लाख रुपियाँ बराबरको खाद्यमा सहुलियत दिएमा सरकारबाट शोधभर्ना पाउन सक्ने छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुुपथ मूल्य सञ्चालन गर्ने छ।

उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा पसल चल्ने छन् । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुुट दिने जनाएको छ । कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वम्यभुका बिक्री केन्द्रबाट ती वस्तुु छुुटमा उपलब्ध गराउँदै छ । त्योबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तुु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए। उनका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी छ।

Post Views: 123

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।

खनाललाई अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय तथा अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले तीनैजना मन्त्रीको नाम सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाउनुभएको छ ।

उनीहरूले आज शपथ लिएर कार्यभार सम्हाल्नेछन् । पूर्वसचिवसमेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउनुभएको छ । कानुन व्यवसायी अर्याल काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुनुहुन्छ । घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ ।

Post Views: 118