काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।

उनले भने, “देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।”

राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै भने, “खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित सङ्घसंस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु।”

उनले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए। राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

Post Views: 143

भक्तपुर। गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।

भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए ।

आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ । आव २०८१/८२ मा पर्यटक शुल्कबाट नपाले रु २९ करोड ११ लाखभन्दा बढी सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए ।

त्यसमा गैरसार्क पर्यटकबाट रु २३ करोड ३३ लाख ७८ हजार ७६० र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट रु पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ । आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले रु २७ करोड ४५ लाख सङ्कलन गरेको थियो । त्यसमा गैरसार्क पर्यटकबाट रु २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट रु छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो ।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो । नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन । गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भक्तपुर घुम्नेमा दोस्रोमा चिनियाँ पर्यटक परेका छन् । गत वर्ष ३६ हजार १३५ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १६ हजार ५५८, जर्मनीका ११ हजार ७८८, फ्रान्सका ११ हजार ७५४, इटालीका आठ हजार २२८, स्पेनका सात हजार ९८, जापानका छ हजार ७३३, इङ्गल्याण्डका छ हजार ५०२, अस्ट्रेलियाका चार हजार ९६८, ताइवानका चार हजार ६६०, हल्यान्डका चार हजार १६५ नागरिकले भक्तपुर अवलोकन गरेको थियो ।

यस्तै पोल्यान्डका तीन हजार ९३, रसियाका दुई हजार ८८२, थाइल्यान्डका दुई हजार ५९५, दक्षिण कोरियाका दुई हजार ५४३, इजरायलका दुई हजार ५१९, क्यानडाका दुई हजार ३६०, मलेसियाका दुई हजार ९९ र अन्य मुलुकका २९ हजार ५६ जनाले भक्तपुर नगरको अवलोकन गरेका छन् । नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न चालु आर्थिक वर्ष २०८२/८३ देखि गैरसार्क पर्यटकसँग प्रति पर्यटक रु दुई हजार र सार्क तथा चिनियाँ पर्यटकसँग रु ५०० शुल्क निर्धारण गरेको छ ।

नगरपालिकाले हाल खौमा, सानो व्यासी, ठुलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटक शुल्क उठाउँदै आइरहेको सुवालले जानकारी दिए ।

नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत छ भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाइ स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ ।

नगरपालिकाले पर्यटकको आकर्षण वृद्धि गर्न नगरभित्रका सम्पदाको पुनःनिर्माणमा जोड दिँदैं आइरहेको छ । त्यसअनुसार २०७२ सालपछि हालसम्म ६९ पाटी, ४७ मन्दिर, १५ द्योछेँ, २२ पोखरी, नौ सत्तल, नौ इनार, पाँच मठ, ढुङ्गेधारा नौ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको तथा हाल १४ वटा सम्पदा निर्माणाधीन अवस्थामा रहेको सूचना अधिकारी सुवालले जानकारी दिए ।

भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीलाई इँटा, काठ, झिङ्गटीका लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको छ । कला संस्कृतिको महत्त्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयमा सांस्कृतिक गुरुको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति नगरपालिकाले लिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहजरूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्ने योजना नगरपालिकाको रहेको सुवालले बताए ।

Post Views: 230

नेपालगञ्ज । बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् ।

उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेण्डा बनाउन आग्रह गरिएको छ ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले एजेण्डालाई प्राथमिकताका साथ उठाउने र त्यसको टुंगो नलाग्दासम्म नछाड्न आग्रह गर्दै यसको फाइदा र बेफाइदाबारेमा स्पष्ट हुन जरुरी भएको बतए । ‘अब यसलाई उठाएर बीचमा छाड्ने होइन, यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुपर्छ’, उनले भने ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिएर अघि बढ्न अनुरोध गर्दै यस्ता विषयले नेपालगञ्जको परिचय स्थापित हुने बताए । प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताए ।

रानाभाटका अनुसार नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । ‘दबाब प्रभावकारी बनाउन विभिन्न कार्ययोजना बनाइँदैछ’, दबाब समूहका सदस्य–सचिवसमेत रहनुभएका सङ्घका महासचिव रानाभाटले भने । सङ्घका अध्यक्ष धामीले सो एजेण्डा स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले सबै राजनीतिक दललाई समन्वय गरेर ध्यानाकर्षण गराउन प्रधानमन्त्रीसम्म पुगिने बताए ।

नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य मानिएको छ । यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको सरोकार भएकाहरुले बैठकमा बताएका छन् ।

त्यसका लागि नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीको संयोजकत्वमा पूर्वअध्यक्ष झलक गैरे, नेपाली कांग्रेसका सचिव कोइराला, पत्रकार शरण कर्माचार्य, शङ्कर खनाल, आशिष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । समितिले १० दिनभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्त्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री ओली आगामी भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्दैछन् ।

Post Views: 245